



नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान खोजेको आरोप लगाउनुभएको छ ।शुक्रबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा उहाले ओलीले पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्ने पनि बताउनुभयो । उहाले आफुहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पार्नुभयो । नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उहाको भनाई छ । उहाले सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्न नसक्ने तर्क गर्नुभयो ।
विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाउनुभयो । रावलले सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताउनुभयो ।उहाले ओलीले चालेका कदमहरु नसच्याएर देशमा अस्थिरता र अराजकता मच्चिने बताउनुभयो । देशको सीमाना मिचिएको भन्दै रावलले त्यस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप लगाउनुभयो ।
