



पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलले अविश्वास, असहयोग, अन्तरविरोध हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई अनुरोध गरेको छ ।सिंहदरबारमा मंगलबार बसेको कार्यदल बैठकले पार्टीमा एकता र समझदारी वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग, अन्तरविरोध हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई अनुरोध गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरिएको माधव कुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिनुभयो ।रावलले पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुने अवस्थालाई नै अन्त्य गरि एकताको सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।त्यस्तै बैठकले कार्यदलको कार्यविधि, कार्यसूची र आचारसंहिता तयार गरेर तल्काल लागू गर्ने निर्णय गरिएको रावलले बताउनुभयो ।बैठकपछि पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यदल संदस्य प्रदीप ज्ञवालीले अविश्वास र अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई अपिल गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
बैठकमा कार्यव्यस्तता भन्दै विष्णु पौडेल र शंकर पोखरेल अनुपस्थित रहनुभएको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार दुवै पक्षबाट पाँच–पाँचजना सदस्य रहेको कार्यदल बनाउने सहमति भएको थियो ।कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य हुनुहुन्छ ।यस्तै नेता नेपालको तर्फबाट भीम रावलको संयोजकत्वमा गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहनुभएको छ । नेकपा भंग भएपछि पार्टी एकता पूर्वको अवस्था अर्थात २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भद्र सहमतिपछि त्यसको कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो ।
