October 10, 2021

अपराधीहरूलाई कानुनी कारबाही गर्न नसक्दा असुरक्षा बढेको

उपराष्ट्रपतिको कार्यालय

उपराष्ट्रपति नन्दबहादुर पुनले अपराधीहरूलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको बताउनुभएको छ ।नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले दिनानुदिन बलात्कारका घटनाहरू बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै अपराधीहरूलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको र अन्तराष्ट्रियस्तरमा मुलुकको छविसमेत धुमिल भइरहेको बताउनुभयो । संविधानले महिलाहरूलाई समान अधिकार दिएको र सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको उहाले बताउनुभयो ।

कानुनले दिएका अधिकारहरूको व्यवहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी रहेको उहाले बताउनुभयो । उहाँले महिलाहरूद्वारा सञ्चालित उद्दमहरूको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन आग्रह गर्नुभयो । उक्त अवसरमा उपराष्ट्रपति पुनले नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको पनि उद्घाटन गर्नुभयो । सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published.