December 3, 2022

असार १५ अर्थात धान दिवस

असार १५ अर्थात धान दिवस बुधबार मनाइएको छ । असार १५ मा खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइएको हो । नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यसै अवसरमा सरकारले राष्ट्रिय बाली बिज्ञान अनुसन्धान केन्द्र, खुमलटार फार्म परिसरमा १९ औं धान दिवस तथा रोपाई महोत्सव आयोजना गरेको थियो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मेशिनबाट रोपाई गर्नुभएको थियो । मन्त्री यादवले नेपालमा धान उत्पादनका लागि सधै युरिया मल अभाव देखिएको बताउनुभयो । उहाले अन्तराष्ट्रिय बजारमा मलको मूल्यबृद्धि हुदा नेपालमा मल आपूर्तिको समस्या देखिएको धारणा राख्नुभयो । कृषि कारखाना स्थापना, मलको स्वचालित मूल्य वा जिटुटी नै सहज मल आपूर्तिको माध्यम भएको उहाको भनाई छ । नेपालको कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । त्यस्तै भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यस्तै सोहि अवधिमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ ।

Leave a Reply

Your email address will not be published.