May 20, 2024

आगामी निर्वाचनका लागि सार्वजनिक गरिएको सङ्कल्पपत्र यथार्थपरक रहेको छ: नेपाली कांग्रेस

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरिएको सङ्कल्पपत्र यथार्थपरक रहेको जनाएको छ । सङ्कल्पपत्रका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका सदस्य जीवन परियारले पार्टीको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताउनुभयो । उहाले यसअघिको घोषणापत्र कार्यान्वयनको अवस्थालाई अध्ययन गरि अहिलेको सङ्कल्पपत्र तयार गरिएको बताउनुभयो । उहाँले अहिलेको सङ्कल्पपत्र मुलुकको वास्तविक अवस्थामा आधारित रहेर कार्यान्वयनयोग्य ढंगले तयार गरिएको पनि दावी गर्नुभयो । परियारले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्नेमा कुनै आशंका नरहेको भन्दै अन्य दलहरुसंग मिलेर कांग्रेसले सरकार बनाउने तर्क गर्नुभयो । गठबन्धन दलहरुसंग मिलेर साझा रुपमा सङ्कल्पपत्रमा रहेका बिषयहरुलाई अघि बढाईने उहाको भनाई छ । त्यस्तै कांग्रेस नेता एवं घोषणापत्र तयारी समितिका सदस्य डा स्वर्णिम वाग्लेले नीजि क्षेत्रको अध्ययन र अनुसन्धानलाई अध्ययन गर्दै मुलुकको आर्थिक बिकासलाई अघि बढाउने खाका तयार गरिएको दावी गर्नुभयो । सङ्कल्पपत्रमा उल्लेख ऊर्जालगायतका तथ्याङ्क यथार्थपरक र वास्तविक भएको स्पष्ट पार्दै उहाले निजी क्षेत्रलाई उत्साही बनाउने कार्यक्रमहरुलाई समेटिएको बताउनुभयो । त्यस्तै अर्का कांग्रेस नेता एवं समिति सदस्य प्राडा गोविन्दराज पोखरेलले सङ्कल्पपत्रका नीति र सिद्धान्त अति महत्वाकांक्षी नभई वास्तविकतासँग नजिक रहेको जिकिर गर्नुभयो ।

पत्रकार सम्मेलनमा बिज्ञ गेजा शर्मा वाग्लेले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धमा र विदेश नीतिका बारेमा सहमतिको दस्तावेज बनाउनुपर्नेमा कांग्रेसको प्रस्ताव रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *