



नेपाल निजामति कर्मचारी युनियन संघले संघिय निजामति सेवा गठनसम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले देशभरका कर्मचारी सडकमा उत्रिएर आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको हो । नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपाल प्रसाद पोखरेलले प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवा गठन सम्बन्धि विधेयक साविक निजामती सेवा ऐन २०४९ भन्दा पनि प्रतिगामी भएकोले तत्काल फिर्ता गर्नुपर्ने माग गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विधेयकप्रति आफू सन्तुष्ट नभएको बताइसकेकाले फिर्ता गर्नुको विकल्प नभएको उहाले बताउनुभयो ।
उहाले कर्मचारीले उठाएको मागलाई बेवास्ता गरी विधयेक ल्याइएको भन्दै हस्ताक्षर अभियान चलाएर सम्बन्धित निकायहरु र प्रमुख राजनीतिक दलका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाउने धारणा राख्नुभयो । उहाले कर्मचारीमाथि भएको भेदभाव र अन्यायलाई अन्त्य गरी सम्बोधन गर्न आवश्यक प्रवन्ध गरी ग्रेड वृद्वि र बढुवा गर्न माग गर्नुभयो ।पोखरेलले आधिकारिक ट्रेड युनियनको निर्वाचन यथाशिघ्र ऐन बमोजिम सम्पन्न गर्नु पर्नेमा जोड दिनुभयो । नेपाल निजामती कर्मचारी युनियन संघले आगामी बजेटको सम्बन्धमा तयार पारेको घोषणा पत्र पनि सार्वजनिक गरेको छ । घोषणापत्रमा कर्मचारीको हकहितको संरक्षण र संघीय निजामती सेवा गठनसम्बन्धी विधेयक फिर्ता गर्ने अभियानलाई प्राथमिकतामा राखिएको छ ।
