July 20, 2021

आयोगले निर्वाचन गर्न नसक्ने

Image result for nirwachan aayog

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले दलको विवाद नमिलाएर कसरी निर्वाचन हुन्छ भन्दै निर्वाचन आयोगलाई प्रश्न गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले गरेको छलफलमा नेकपा प्रचण्ड–नेपाल पक्षका नेताहरुले नेकपा विवाद हल नै नभएको अवस्थामाा आयोगले निर्वाचन गर्न नसक्ने बताएका थिए । छलफलमा सहभागी सो पक्षका नेता लीलामणि पोखरेलले ६४ प्रतिशत मत भएको राजनीतिक दलको विवादसम्बन्धी प्रश्नहरु हल नगरी निर्वाचन गर्न नसकिने बताएको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई कित्तामा विभाजित भएको छ । एउटा नेकपाको नेतृत्व प्रधानमन्त्री ओली तथा अर्को कित्ताको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ ।

दुबैले आफूलाई आधिकारिक दावी गरे पनि कुनचाहिँ आधिकारिक नेकपा हो भन्ने निर्णय निर्वाचन आयोगले दिन सकेको छैन । नेता पोखरेलले दलसम्बन्धी विवादबारे परेको विषयमा छिटो टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो । छलफलमा अन्य दलका प्रतिनिधिहरुको पनि सहभागीता थियो । सरकारले तोकेको मितिमा निर्वाचन गर्ने तयारी स्वरुप आयोगले आचारसंहितका बारेमा दलका प्रतिनिधिहरुसंग छलफल गरेको हो । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनावको घोषणा गरेको छ । आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको छ । निर्वाचन आयोगले चुनावलाई मितव्ययी, पारदर्शी बनाउन तयार पारेको मस्यौदामा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर खर्च गर्नुपर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.