November 22, 2022

एमसीसीलाइ लेखेको पत्र कूटनीति मर्यादाविपरीत रहेको

सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाइ लेखेको पत्र कूटनीति मर्यादाविपरीत रहेको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनीहरुले यस बिषयमा छानविन गर्नुपर्ने माग समेत गरेका छन् । बैठकमा सांसद भीम रावलले प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र राष्ट्रिहित लत्याएर एमसीसीलाई पत्र लेखेको भन्दै संसदीय समितिले छानबिन गरेर कारबाहीको दायरमा ल्याउनुपर्ने माग गर्नुभयो । उहाले देउवा र प्रचण्डको पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताउनुभयो । त्यस्तै कांग्रेसका दिव्यमणी राजभण्डारीले यसबारेमा बुझ्नका लागि प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई बोलाउनुपर्ने धारणा राख्नुभयो । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले एमसीसीका बिषयमा जनमत संग्रह गर्नुपर्ने बताउनुभयो । मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले पत्र लेख्नु गल्ती भएको उहाको भनाई छ । बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूभित्रको संकीर्ण सोचले गर्दा परराष्ट्र र सुरक्षा नीतिमा साझा धारणा बन्न नसकेको बताउनुभयो ।

त्यस्तै सभापति पवित्रा निरौला खरेलले ’एमसीसीबारे छलफलको माग भएकाले अर्को बैठकमा छलफल गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.