November 30, 2023

एमसीसी पारित हुनुअघि एमाले अध्यक्ष केपी ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको: नेता नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित हुनुअघि आफूहरुले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको बताउनुभएको छ । बुधबार माओवादी सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै श्रेष्ठले एमसीसी फेल गराउने सर्तमा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताउनुभएको हो । नेता श्रेष्ठले उक्त बैठकमा एमालेबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी भएको बताउनुभयो । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र आफूसहितका केही नेताहरु सहभागी भएको उहाँले बताउनुभयो । माओवादी एमसीसी फेल गर्ने पक्षमा भएपनि ओलीले विफल पार्न साथ नदिँदा व्याख्यात्मक टिप्पणीसहित पारित गरेको श्रेष्ठले बताउनुभयो । आगामी चुनावमा पनि कम्युनिष्ट एकताका लागि आफूहरुले पहल गरेको भए पनि एमाले अध्यक्ष ओलीका कारण त्यो सफल नभएको उल्लेख गर्नुभयो । त्यस्तै गठबन्धन दलभित्रको चुनावी तालमेल आफूहरुको इच्छा नभएर बाध्यात्मक परिस्थितिको उपज भएको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन संविधानको रक्षाका लागि बाध्यात्मक रुपमा बनाएको दाबी गर्नुभयो । मुलुकको एजेन्डा र बिचारको हिसाबले माओवादीभन्दा अर्को कुनै शक्ति नभएको श्रेष्ठले जिकिर गर्नुभयो । त्यस्तै नेता श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्ड चितवनमा चुनाव हार्ने डरले गोर्खा आएको कुरा सत्य नभएको बताउनुभयो । उहाँले अन्तिम समयमा प्रचण्डले गोरखाबाट चुनाव लड्ने निर्णय लिनुको कारण जनयुद्धको लिगेसीसँग जोडिएको बताउनुभयो ।

जनयुद्ध सुरु गर्ने बेला केन्द्रीय कमिटीको तयारी बैठक गोरखामा भएको र जनयुद्ध सुरुवातको आवश्यक फौजी तयारी पनि त्यहीँ गरिएकाले प्रचण्डले गोर्खा रोज्नुभएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *