
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका बिषयमा २०७२ सालमा नै रक्षामन्त्रीको हैसियतले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले पत्र लेखेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम समापन गर्दै अध्यक्ष ओलीले २०७२ साल असोज ६ गते संविधान जारी भएको ३ दिनपछि, आफू सरकारबाट हट्ने तय भइसकेपछि तत्कालिन प्रधानमन्त्री कोईरालाले एसपीपीमा पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गरेको बताउनुभएको हो । ओलीले आफू प्रधानमन्त्री भएको १५ दिनपछि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतावासलाई पत्र लेखेको र आफूलाई जानकारी नदिइएको उल्लेख गर्नुभयो । सामान्यतयाः दुतावासलाई प्रधानसेनापतिले त्यसरी पत्र लेख्ने प्रचलन नरहेको र यो रक्षा वा परराष्ट्रमन्त्रालयको काम भएको उहाले बताउनुभयो । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला फेरि पत्र लेखिएको उहाले दावी गर्नुभयो । ओलीले आफ्नो सरकारका बेला सैन्य गठबन्धनमा सामेल नहुने भन्दै च्याप्टर क्लोज भएको जिकिर गर्नुभयो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाको क्याम्प बनाउने गरी बनाएको ड्राफ्टका बारेमा छलफल हुनुपर्ने उहाले बताउनुभयो । त्यस्तै ओलीले जनप्रभावकै हिसाबले पनि एमाले देशको पहिलो पार्टी रहेको बताउनुभयो । एमाले असफल नभएपनि धेरै सफल नभएको उहाले बताउनुभयो । उहाले एमाले अहिले पनि पहिलो शक्ति भएको भन्दै स्थानीय तहमा १२० सिट जितेको माओवादी केन्द्रले २०५ सिट जितेको एमालेलाई हरायौँ भन्नु हास्यास्पद रहेको तर्क गर्नुभयो । उहाले देश र जनताको हितको काम एमालेले कहिल्यै नछाड्ने स्पष्ट पार्नुभयो । ओलीले कुनै पनि प्रतिक्रियावादी शक्तिले एमालेलाई ध्वस्त गर्न नसक्ने जिकिर गर्नुभयो । प्रशिक्षणका क्रममा ओलीले पार्टीभित्र बसेर पार्टीलाई नै गिराउन खोज्ने व्यक्ति एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभयो ।
समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य प्राप्तिका लागि एमाले सशक्त भएर अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।