


जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गर्नुभएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले नैतिकताको आधारमा ओलीले राजीनामा दिदा उत्तम हुने धारणा पनि राखनुभयो । नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो ।
सहकार्यका लागि आफूहरुले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनको लागि सुझाव दिएको उहाले बताउनुभयो । नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेको भेटवार्ता भएको उल्लेख गर्दै उहाले उक्त भेटमा दाहाल–नेपालले नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि जानकारी दिनुभयो । उहाले कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने कुरा अहिले नै भन्न नसकिने टिप्पणी गर्नुभयो ।नेकपाको विवाद निर्वाचन आयोगमा रहेको भन्दै उहाले औपचारिक रुपमा विभाजन भएपछि नै अन्य प्रक्रिया अघि बढ्ने धारणा राख्नुभयो ।
