



प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको बताउनुभएको छ ।सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको प्रस्ताव राख्ने क्रममा प्रधानमन्त्री ओलीले संविधानको स्वीकार्यता, हिंसामा लागेकालाई शान्तिपूर्ण बाटोमा ल्याएका लगायतका कुरा राख्दै सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले राष्ट्रियताको सवालमा अहिले प्रश्न उठ्ने ठाउँ नरहेको दावी गर्नुभयो । उहाले देशलाई अगाडि बढाउन औचित्यपूर्ण समायानुकूल ढंगले संविधान संशोधन गर्न सकिने भन्दै त्यसका लागि सरकार सबैसँग छलफल गर्न, मस्यौदा बनाउने सन्दर्भमा सुझावका लागि एउटा कार्यदल पनि बनाउन सकिने जिकिर गर्नुभयो । ओलीले पूराना अपराधका दोषीलाई कारबाहि गरिएको भन्दै सरकारलाई विश्वासको मत दिन गर्नुभयो । त्यस्तै उहाले केही योजनामा सफलता मिल्न ढिलाइ हुँदा बढाइचढाइ गरेर सरकारको विरुद्धमा प्रचार गरिएको दुखेसो गर्नुभयो । प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौं ल्याउने काम गरेकोदेखि धरहरा, रानीपोखरी र बसन्तपुरको निर्माण सकिएको बताउनुभयो । संसद पुनःस्थापना भइसकेपछि आफूमाथि कसैले पनि अविश्वास नगरेको ओलीको भनाइ थियो । ओलीले पार्टी विभाजन भएपनि लामो समयसम्म माओवादीले विश्वास गरिरहेको भन्दै आगामी दिनमा पनि विश्वास गर्न आग्रह गर्नुभयो ।
त्यस्तै उहाले कोरोना नियन्त्रण गर्ने अभियानमा एक जुट भई रोगलाई पराजित गर्ने उत्तरदायित्व वहन गगर्न सबैसँग आग्रह गर्नुभयो । यति बेला सबै कोरोनाविरुद्धका लडाइँमा पक्ष र विपक्ष नभई सिद्धान्त र विचारलाई छाडेर भिन्नतालाई थाती राखेर एक जुट हुनुपर्ने औँल्याउनुभयो ।सरकार कोभिड र विकासका विषयमा केन्द्रित खोज्दा पनि सरकारले अनेकाँै लाञ्छना र आरोप खेप्नु परेको बताउँदै उहाँले औषधि खरीदका नाममा भ्रष्टाचार गरियो भनी प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएकामा आपत्ति जनाउनुभयो । औषधि खरीदमा भ्रष्टाचार भएको पाइएमा सरकार छानबिन गरी जस्तोसुकै कारवाही गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणलाई केन्द्रित गरेर नयाँनयाँ अस्पताल र शय्या तयार गर्ने काम भइरहेको बताउनुभयो ।
