



नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरुलाइ फिर्ता हुन निर्देशन दिने निर्णय गरेको हो । त्यस्तै बैठकले एमालेको केन्द्रीय कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदलाई पनि २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । चैत १ गते हुने भनिएको केन्द्रीय कमिटीको बैठक भने यथावत रहेको श्रेष्ठले बताउनुभयो ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको केन्द्रीय सदस्यहरूको भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाउनुभएको थियो भने माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको जानकारी पनि आफूपक्षीय केन्द्रीय कमिटी बैठकमा गराउनुभएको थियो ।
