November 27, 2022

काठमाडौंको फोहोर व्यवस्थापनका लागि सरकारले स्थायी रूपमा नै समाधान खोज्न चाहेको छ: मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सरकारले स्थायी रूपमा नै समाधान खोज्न चाहेको बताउनुभएको छ । फोहर व्यवस्थापनका बिषयमा शुक्रबार शहरी बिकास मन्त्रालयमा स्थानीय लगाएत सरोकारवाला निकायसंग भएको छलफलका क्रममा मन्त्री झाँक्रीले सिसडोलबासीसंग यसअघि भएका प्रतिवद्धता पुरा नभएको प्रति माफी माग्दै स्थायी रुपमा नै फोहर व्यवस्थापन गर्न बजेटमा कमी हुन नदिने समेत बताउनुभयो । उहाले सिसडोलबासीलाई प्राथमिकतामा राखेर नै आगामी कार्ययोजना अघि बढाउने दावी गर्नुभयो । सिसडोलमा फोहर व्यवस्थापन गर्दा देखिएका समस्याको समाधानका लागि काम सुरु गरिसकेको उहाले बताउनुभयो । मन्त्री झाँक्रीले यसअघि तत्कालको समस्या समाधान गर्न गरिएको सम्झौता कार्यान्वयन नभएका कारण नै समस्या देखिएको भन्दै अव त्यस्तो प्रवृति नदोहरीने धारणा राख्नुभयो । सिसडोलमा गरेको गल्ती अब बञ्चरे डाँडा नदोहरिने उहाको भनाई छ । त्यस्तै सडक निर्माण कार्यलाई पनि तीव्रता दिने उहाले जानकारी दिनुभयो । छलफलका क्रममा कांग्रेस महामन्त्री गगन थापाले यसै बर्षको बजेटमा जग्गा अधिग्रहणका लागि बजेट छुट्टाउनुपर्ने बताउनुभयो । उहाले स्थानीयबासीसंग भएको सम्झौता कार्यान्वयन नहुँदा विश्वसको संकट पैदा भएकाले अव दिर्घकालिन रुपमा नै समस्याको समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै कांग्रेस नेता प्रकाश शरण महत्तले काठमाडौंको फोहर व्यवस्थापन महानगर, सरकारका बिभिन्न मन्त्रालय लगाएतको सहकार्यमा हुनुपर्ने बताउनुभयो । उहाले फोहर व्यवस्थापन गर्न सरकारले समिति बनाएपनि क्रियाशिल हुन नसकेको तर्क गर्नुभयो । त्यस्तै स्थानीयहरुले सिसडोलबासीहरुको समस्यामाका बारेमा पटक पटक सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराएपनि सम्बोधन हुन नसकेको गुनासो गरे । स्थानीयहरुले पैसा उठाउन आन्दोलन गरेको भन्ने भ्रम छरेको उनीहरुको भनाई छ ।

उनीहरुले सहमतिका नाममा सम्बन्धीत निकायले सदैव स्थानीयहरुलाई भ्रममा राख्ने गरेको बताए । हाल बञ्चरेडाँडा क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि सो क्षेत्रको आवश्यक जग्गा अधिग्रहण गर्ने मन्त्रालयको तयारी छ । यसअघि शुक्रबार राति आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको थियो ।

Leave a Reply

Your email address will not be published.