

.jpg&w=900&height=601)

कोभिड–१९ संक्रमण घट्न थालेपछि काठमाडौं उपत्यकामा मंगलवारदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ ।
तीन ओटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्म कायम रहनेछ । काठमाडौं उपत्यकाकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ ३० गते बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि सात गतेसम्म थप्ने निर्णय गरेको थियो । निषेधाज्ञा खुकुलो बनाउने निर्णयपछि मंगलबार उपत्यकाका सडकमा सवारीसाधनको संख्या बढेको छ । कार्यालय समयमा बिभिन्न चोकमा जाम समेत भएको छ ।
मंगलबार निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ७९७ ओटा सवारी साधनलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ६१५ ओटा दुई पाङग्रे, १३८ ओटा चार पाङ्ग्रे, १८ ओटा ट्याक्सी र २६ ओटा ठुला सवारी साधन रहेका छन् ।पछिल्लो पटक थपिएको निषेधाज्ञामा भने अत्यावश्यक खाद्य सामग्री खरीदविक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । उक्त सामानको ढुवानी भने राति ९ बजेदेखि विहान ११ बजेसम्म मात्र गर्न पाइने व्यवस्था गरिएको छ ।
