


सरकारको पहलमा काठमाडौंमा वाटर एटीएम सञ्चालनमा आएको छ । पानी खानका लागि आवश्यकता अनुसार सिक्का वा नोट राखेर स्वचालित रुपमा पानी आउने वाटर एटीएम सञ्चालनमा आएको हो । खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा सञ्चालनमा ल्याइएको वाटर एटीएमको खानेपानीमन्त्री मणिचन्द्र थापाले उद्घाटन गर्नुभयो ।
वाटर एटीएम जडान भएसँगै स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको र सर्वसाधारण लाभान्वित हुने मन्त्री थापाले बताउनुभयो । उहाले १५ वटा एटिएम राख्ने लक्ष्य रहेको र हाल चार स्थानमा सञ्चालनमा आएको जानकारी दिनुभयो । पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैयाँ तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । सुरुमा काठमाडौंको शान्तिबाटीकाबाट सुरु गरिएको वाटर एटीएमलाई अन्य स्थानमा पनि विस्तार गरिने मन्त्रालयले जनाएको छ ।
