


बिभिन्न कार्यक्रम गर्दै काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवस मनाएको छ ।सोमबार महानगरले ‘स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौं’, नाराका साथ ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्दै महानगर दिवस मनाएको हो ।महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनमा हरेक वर्ष महानगर दिवस मनाउँदै आएको हो ।कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले काठमाडौँ महानगरपालिका संघीयता कार्यान्वयनमा सवैभन्दा अगाडि रहेको बताउनुभयो । उहाले विश्वको राष्ट्रहरुमा भन्दा नेपालको संविधानले स्थानीय सरकारलाई असाधारण अधिकार दिएको र उक्त अधिकार असाधारण काम गर्न दिइएको बताउनुभयो ।
कार्यक्रमका लागि मेयर विद्यासुन्दर शाक्यले नया नेपाल समृद्ध नेपालको अभियानमा महानगर अघि बढेको बताउनुभयो । उहाले आगामी तीन महिनाभित्रमा महानगरपालिकाका सबै सडकमा बत्ती बाल्ने योजना रहेको सुनाउनुभयो ।मन्त्री त्रिपाठीले महानगरले प्रकाशन गरेको ’इन्द्रजात्रा’ नामक पुस्तक समेत विमोचन गर्नुभएको थियो भने मेयर शाक्य र मिर्गौला विशेषज्ञ डा. ऋषिकुमार काफ्लबीच मिर्गौला बचाउ अभियान’ कार्यक्रमका लागि सम्झौता भएको थियो । कार्यक्रममा विभिन्न बाजा बजाउनेहरुलाई पुरस्कृत गरिएको थियो ।
