

बागमती प्रदेश खेलकुद विकास परिषद् र सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले संयुक्तरुपमा कात्तिक २७ मा हाफ म्याराथन आयोजना हुने भएको छ । बहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजकले कार्तिक २७ गते पुरुष तथा महिलातर्फ हुने म्याराथनका विजेतालाई नगद ५० हजारले पुरस्कृत गर्ने जानकारी दिएको हो । त्यसैगरी पुरुष तथा महिलातर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमश ३० हजार, २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । सिन्धुपाल्चोकबाट सहभागी हुने खेलाडीहरु मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ । भेट्रान्सतर्फ शीर्ष तीन स्थान हात पार्ने धावकहरु क्रमश १० हजार, ८ हजार र ५ हजारबाट पुरस्कृत हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभागीय टोली तथा व्यक्तिगत गरी करिब १ सय ५५ जनाले सहभागिता जनाउने छन् । आयोजकका अनुसार प्रतियोगिताका लागि करिब २१ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको छ । हाफ म्याराथन पाँचपोखरीदेखि रैथानले महादेव मन्दिरसम्म हुने आयोजकले जनाएको छ ।
