July 30, 2021

कोभिड १९ अनुगमन समितिले नेपाल चिकित्सक संघसँग छलफल

नेपाली काँग्रेसको कोभिड १९ अनुगमन समितिले नेपाल चिकित्सक संघसँग छलफल गरेको छ काँग्रेसको कोभिड १९ अनुगमन समितिका संयोजक तथा नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले शुक्रबार नेपाल चिकित्सक संघको कार्यलयमा संघसँग छलफल गर्नुभएको हो । छलफलका क्रममा उहाँले नेपालमा कोभिडको प्रभावका साथै वर्तमान सरकारले महामारीको नियन्त्रणमा गरेका कार्यहरु र नेपालमा कोरोना खोप ल्याउने बारे छलफल गर्नुभएको हो । साथै उहाँले कोभिडका कारणले नेपालका चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालमा कार्यरत अन्य कर्मचारीहरुमा परेको प्रभावका बारेमा पनि जानकारी लिनुभएको थियो । सहमहामन्त्री महतले सरकारले महामारी नियन्त्रणका क्षेत्रमा कुनै प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । उहाँले महामारी सुरु भएदेखि नै यो सरकार यस्तो अप्ठेरो समयलाई कमाउने धन्दाका रुपमा लिएको, औषधि तथा अन्य मेडिकल सामग्री किन्ने काममा समेत कमिसनको खेल भएको बताउनुभएको थियो ।

छलफलका क्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोरोना महामारीका बेला अग्रभागमा खटेका स्वास्थ्यकर्मीलाई सरकारले दिने भनिएको सेवा, सुविधा तथा भत्ता नपाएको गुनासो गर्नुभयो ।नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले दिनुपर्ने विशेष सुविधाका लागि काँग्रेसले पहल भन्दै सहमहामन्त्री महतले चिकित्सकहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.