December 5, 2022

कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सबै मिलेर कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताउनुभएको हो । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको उहाको भनाई छ । प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको उल्लेख गर्नुभयो । उहाले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड–१९ विरुद्धको खोप लगाउने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको र खोप लगाउन योग्य नागरिक सबैलाई पूर्ण मात्राको खोप लगाउने गरी सरकार अघि बढेको बताउनुभयो । प्रधानमन्त्री देउवालाई नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । खोपकेन्द्रको सङ्ख्या वृद्धि गरी सबै उमेर समूहका नागरिकलाई तत्काल खोप उपलब्ध गराउन, राज्यका निकाय एवम् कूटनीतिक क्षेत्रको सक्रियता बढाउन, खोपको आपूर्ति तथा प्रयोगका प्रबन्ध मिलाउन र पर्याप्त भण्डार केन्द्र स्थापना गर्न सरकारसँग आग्रह गरिएको एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

ध्यानाकर्षण पत्रमा कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि राज्यको सबै संयन्त्र तथा राजनीतिक दललाई समन्वयात्मक रुपमा परिचालन गर्न, सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजलाई पनि समन्वयात्मक रुपमा परिचालन गर्न, पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा टे«सिङ, परीक्षण, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्न सरकारसँग आग्रह गरिएको छ । अस्पतालको स्तर वृद्धि गरी थप सेवा सञ्चालन गर्न, बुस्टर डोजको व्यवस्था तत्काल मिलाउन पनि एमालेले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.