April 18, 2024

गठबन्धनमा रहेका दलहरु लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर बोल्न डराए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरु लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर बोल्न डराएको बताउनुभएको छ । एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्दा भारतलाई पनि मन नपरेको भन्दै गठबन्धनमा रहेका दलहरु पनि नेपालको भूमि आफ्नै हो भनेर भन्न डराएको बताउनुभएको हो । भारत भ्रमणमा जादा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको भूमिका बारेमा समेत बोल्ने हिम्मत नदेखाएको उहाले बताउनुभयो । ओलीले शेर बहादुर देउवा र प्रचण्डलाई भारत भ्रमणमा बोलाएपनि माधव नेपाललाई भारतले नवोलाएर छटपटी भएको तर्क गर्नुभयो । अध्यक्ष ओलीले प्रतिष्पर्धात्मक बहुदलिय व्यवस्थाप्रति पनि गठबन्धन प्रतिष्पर्धाको राजनीतिक नभएर राजनीतिलाई दुश्मनीको बिषय बनाएको धारणा राख्नुभयो । उहाले एमसीसीबारे गठबन्धनमा रहेका दलहरुले दोहोरो चरित्र देखाएको र नागरिकता विधेयकमा पनि राष्ट्रपतिले दिएको सुझाव नमानी जस्ताको तस्तै पास गरेको भन्दै आपत्ती जनाउनुभयो । ओलीले शान्तिप्रक्रिया टुङ्ग्याउने भन्दै पीडितहरुलाई रुवाउने काम गठबन्धन सरकारले गरेको भन्दै जनयुद्ध पिडितको गोली निकाल्ने काम एमालेले गर्ने जिकिर गर्नुभयो । ओलीले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने भनिएपनि प्रचण्डले कम्युनिष्ट पार्टीलाई कांग्रेस समक्ष बुझाएको आरोप लगाउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री दानबहादुर चौधरी लगाएतका अन्य दलका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *