
काठमाडौँ महानगरपालिका वडा नं १७ मा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीको संस्था युनाइटेड नेवा, आइओएनलगायत दर्जनबढी संस्था तथा व्यक्तिको सहयोगमा चिकित्सालयमा दैनिक १०० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो । अक्सिन प्लान्टको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभयो । रु एक करोड ४५ लाखको लागतमा अक्सिजन प्लान्ट जडान गरिएको चिकित्सालयले जनाएको छ ।
कार्यक्रममा मन्त्री भुसालले अक्सिजन प्लान्टको जडानले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भुसालले यही मङ्सिर १ गतेदेखि देशैभरिका गरिब जनताका लागि विद्युत् महसुल घटाइएको जानकारी दिनुभयो । गरिबलाई विद्युत् निःशुल्क उपलब्ध गराउँदै सरकार लोककल्यलाणकारी अवधारणाबाट अघि बढेको उहाको भनाई छ ।