
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई गलत ढंगले सरकारमा जान हतार नभएको भन्दै जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्दै देश र जनताको सेवा गर्न चाहेको बताउनुभएको हो । उहाले एमालेलाई घरको झ्याल र छानाबाट नभएर घरको मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्न कसैले रोक्न नसक्ने दावी गर्नुभयो । नेम्वाङले बहिखाता लिएर जनतामा हिसावकिताव देखाउन एमाले तयार रहेको उल्लेख गर्नुभयो । टर्चलाईट बालेर एमाले खोज्नुपर्छ भन्नेहरुलाई आगामी निर्वाचनमा जनताले सजाय दिने उहाको भनाई छ । उहाले आगामी निर्वाचनमा एमालेको नभई आफ्नै पार्टीको बिरुद्धमा लाग्नेहरुको बाक्सा खालि गर्ने धारणा राख्नुभयो । त्यस्तै एमाले उपाध्यक्ष विष्णु पौडेलले बिभिन्न बहानामा सरकारले स्थानीय निर्वाचन सार्न खोजिरहेको आरोप लगाउनुभयो । गठबन्धन आपसी विवादमा फसेकाले पनि निर्वाचन टार्न र सार्न चाहिरहेको उहाको भनाई छ । पौडेलले निर्वाचन सार्ने दुष्कर्म गरिए जनस्तरको कडा प्रतिवादको सामना गर्नुपर्ने चेतावनी दिनुभयो ।

उहाले बैंशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशतभन्दा माथि जीत हासिल गर्ने लक्ष्यका साथ अघि बढेको धारणा राख्नुभयो ।