काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबविरुद्ध १–० गोलले पराजित गर्दै जावलाखेलले पाँचौं चरणमा पहिलो जित निकाल्न सफल भएको हो । खेलको एक मात्र निर्णायक गोल जावलाखेलको विदेशी खेलाडी निकोलस फर्नान्डेजले गरे । उनले ३७ औं मिनेटमा गरेको गोल जारी लिगमा जावलाखेलको नै पहिलो गोल हो । च्यासलका डिफेन्डर केचा यानिक गल्तीको फाइदा उठाउँदै ओनगना एन जुनियरको पासमा निकोलसले उत्कृष्ट फिनिस गरेका थिए । च्यासल ५ खेलबाट ४ अंक रहेको छ भने पहिलो जित निकालेको जावलाखेलको समेत ४ अंक पुगेको छ । यस्तै लिग अन्तर्गत पोखरा रंगशालामा शनिबार विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्ट नायक बने । उनले दुई गोल गरे ।
यस्तै निशान लिम्बुको नाममा एक गोल रह्यो । पुलिसका सुमन लामाले एक गोल फर्काए ।’ए’ लिगको इतिहासमा पहिलो पटक काठमाडौं बाहिर भएको पहिलो लिग खेल हो । यस जितसँगै मनाङले ५ खेलमा १३ अंक जोडेको छ । मनाङले शीर्ष स्थानमा २ अंकको अग्रता समेत बनाएको छ । दोस्रो स्थानको मछिन्द्रको ११ अंक रहेको छ ।