
राष्ट्रपति विद्यादेवी भण्डारीले झुठा र भ्रमपूर्ण सूचनाको प्रवाहको बिषय विश्वव्यापी चुनौती बनिरहेको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा उहाले सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनिरहेको बताउनुभएको हो । उहाँले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेवी सरकार लोकतन्त्रका अपरिहार्यतत्व भएको बताउनुभयो । उहाँले नेपाली प्रेस जगतले जनसरोकारका सबैजसो विषयमा नागरिकलाई सुसूचित गराउँदै सार्वजनिक सेवा प्रदायकलाई जनताका आवश्यकताका बारेमा पृष्ठपोषण प्रदान गरी सञ्चार सिटीका रुपमा काम गरिरहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले विपतको समयमा आमजनतालाई सचेत र सर्तक बनाउनुका साथै सही सूचना सम्प्रेषण गरी राज्यका जिम्मेवार निकायलाई उपयुक्त रणनीति निर्माणका लागिसमेत पत्रकारिता क्षेत्रले महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको सुशासन र समृद्धिका लागि नेपाली प्रेस जगतले खेलको भूमिकाको प्रशंसा गर्नुभयो । उहाले सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँड्नका निम्ति पहरेदारको रुपमा काम गर्न प्रेस जगतलाई आग्रह गर्नुभयो । कार्यक्रममा २०७८ सालको वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार द्वय किशोर नेपाल र तारानाथ दाहाललाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा जनही १ लाख नगद राशिसहित दोसल्ला र प्रमाणपत्रद्वारा ६ जना पत्रकारलाई २०७८ सालको राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।
त्यस्तै कोरोना महामारीका कारण स्थगित भएका २०७६ साल र २०७७ सालमा वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने पत्रकारहरूलाई पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।