July 13, 2024

टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल

आश्विनशुक्ल त्रयोदशीका दिन शनिबार पनि नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल देखिएको छ । बिजयादशमीका दिन टीका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल बढेको हो । नवरात्रको नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । टिकाको पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु शनिबार राजधानीमा आकाश खुलेकाले निर्धक्क भएर हिँड्न पाएका हुन । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढाटाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जान समस्या भएको थियो ।
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नहुने बताइएको छ ।

त्यस्तै केही दिन सुनसान रहेको काठमाडौँ उपत्यकामा चहलपहल देखिन थालेको छ । मानिसको चहलपहल बढेसँगै सवारीसाधनको चाप पनि विस्तारै बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *