


दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८ बाट नौ जना कलाकार सम्मानित भएका छन् ।बिहीबार काठमाडौंमा रेजिना इन्टरटेन्मेन्ट तथा शहिद फिल्म्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाली फिल्मका नौ जना अभिनेत्रीहरुलाई नवदुर्गा सम्मानद्वारा सम्मानित गरिएको हो ।सम्मानित हुने अभिनेत्रीहरुमा चैत्य देवी, शर्मिला मल्ल, लक्ष्मी गिरी, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी, सुरक्षा पन्त, साम्राज्ञी राज्य लक्ष्मी शाह तथा उपासना सिंह ठकुरी रहनुभएको छ । उहाँहरुलाई उर्जामन्त्री पम्फा भुसालले सम्मान गर्नुभयो । कार्यक्रममा ऊर्जामन्त्री भुसालले समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाले कोरोनाका कारण सर्वसाधारणको अवस्था असहज भएकाले सरकारले राहतका कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो । मन्त्री भुसालले कलाकारको समस्या समाधान गर्न र सहयोग गर्न सकारात्मक रहेको धारणा राख्नुभयो ।
दुई वर्ष प्रारम्भ भएको राष्ट्रिय नवदुर्गा सम्मान गत वर्ष भने कोभिड–१९ को जोमिखका कारण आयोजना भएको थिएन । यसपटकको नवदुर्गा सम्मान कार्यक्रमलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आयोजना गरिएको आयोजकले जनाएको छ ।
