


गृहमन्त्री बालकृष्ण खाँडले आम नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउनुभएको छ । कांग्रेसको भ्रातृ संगठन तरुण दलले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता टोलीलाई सम्मान गर्न बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँडले नागरिकको जीवन रक्षा सरको पहिलो प्राथमिकता भएको बताउनुभएको हो । उहाँले नागरिकको जीवन रक्षाकै निम्ति सरकार बनेको र राष्ट्र निर्माण भएको तर्क गर्नुभयो । गृहमन्त्री खाँडले खेलाडीलाई सरकारले पनि हौसला प्रदान गर्ने बताउँदै अर्काे सिजनमा खेलाडीले उपाधि जितेर नेपाल फर्किएमा पदकबाट सम्मान गर्ने उद्घोष गर्नुभयो । उहाँले संविधान पालना गर्ने र संविधानको रक्षा गर्न आफूहरु प्रतिवद्ध रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । तरुण दलले नेपाली फुटबल टोलीका सम्पूर्ण सदस्य र अफिसियललाई सम्मान गरेको थियो ।
फुटबल खेलाडी तथा अफिसियललाई नेपाल गृहमन्त्री बालकृष्ण खाँडले सम्मान गर्नुभयो भने नेपाली फुटबल टोलीलाई तरुण विभागका प्रमुख शंकर भण्डारीले सम्मान गर्नुभएको थियो । तरुण दलले खेलाडीलाई २ लाख ६१ हजार बराबरको आर्थिक सम्मान र प्रमाणपत्र प्रदान गरेको थियो ।
