April 18, 2024

नागरिकता विधेयकलाई राजनीतिकरण गर्न खोजिएको आरोप छ: सांसद प्रदीप ज्ञवाली

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता बिधेयकमाथिको छलफलका क्रममा ज्ञवालीले नागरिकतासम्बन्धी बिषय राष्ट्रियतासंग जोडिएको बिषय भएकाले कुनै दलले राजनीतिकरण गर्न नहुने बताउनुभएको हो । उहाले नागरिकताका बिषयमा जनमत विभाजित किमार्थ गर्न नहुने बताउनुभयो । त्यस्तै उहाले नागरिकता विधेयक छिटो टुंगो लगाउन प्रमुख प्रतिपक्ष रहेको भन्दै जबर्जस्ती, टाउकाको गिन्तीको आधारमा टुंगो लगाउन खोजिए यसका दुष्परिणाम राम्रो नहुने जिकिर गर्नुभयो । राष्ट्रपतिबाट उक्त बिधेयक फिर्ता आएर छलफलका लागि अवसर प्राप्त भएको ज्ञवालीको भनाई छ । उहाले राष्ट्रपतिले आमाको गरिमा, प्रादेशिक पहिचान या अन्य यावत प्रश्नहरूलाई एकमुष्ट समाधान गरेर नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाइयोस् भनेर अवसर दिएको दावी गर्नुभयो । त्यस्तै कांग्रेस सांसद मीन विश्वकर्माले नागरिकता बिधेयकमा सम्बन्धमा दलहरुले मौसमी राष्ट्रियता देखाएको टिप्पणी गर्नुभयो । पूर्व फर्किँदा एक खालको, पश्चिम फर्किँदा एक खालको राष्ट्रियता, उत्तर फर्किँदा एक खालको र दक्षिण फर्किँदा एक खालको राष्ट्रियता हुने गरेकाले समस्या भएको उहाले बताउनुभयो । उहाले यसअघिको अध्यादेशलाई जस्ताको तस्तै विधेयक बनाइएको र यो राष्ट्रिय सहमतिमा नै भएको जिकिर गर्नुभयो । त्यस्तै माओवादी केन्द्रका सांसद बर्षमान पुनले कार्यकारीको काममा प्रश्न उठाउने अवस्था आउन नदिने गरि पुन संसदबाट पारित गर्नुपर्ने बताउनुभयो । अहिलेको आवश्यकताका अनुसार नै नागरिकता बिधेयक ल्याइएको भन्दै उहाले यसलाई आवश्यकता अनुसार आगामी दिनमा राष्ट्रिय सहमति अनुसार अघि बढाउन सकिने सरकारको प्रतिवद्धता आएको जिकिर गर्नुभयो । उहाले नागरिकताजस्तो बिषयलाई राजनीतिकरण नगर्न आग्रह गर्नुभयो । बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद उपाध्यक्ष दुर्गा पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै सांसद हृदयेश त्रिपाठीले विधेयकलाई फिर्ता गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *