
निर्वाचन आयोगले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा दुई दिन समय दिन नसक्ने बताएको छ । शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्द सूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताउनुभएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय आइतबारलाई तोकिएको छ । देशभर वर्षा, बाढी, पहिरो र डुवानको समस्या देखिएपछि दलहरुले निर्वाचन कार्यक्रम सार्न वा मनोनयनको समय २ दिन राख्न आयोगलाई आग्रह गरेका छन् । तर आयोगले निर्वाचन कानुनले प्राकृतिक विपत्तिका कारण मनोनयन पछि सार्न छुट नदिएको जवाफ दिएको छ । प्राकृतिक विपत्ति आइपरे मतदानको काम स्थगित गर्न सकिने कानुनी व्यवस्था भएको तर निर्वाचन कार्यक्रम सार्ने व्यवस्था नभएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । उम्मेदवार आफैं जान नसके प्रतिनिधि वा वारेसमार्फत पनि मनोनयन दर्ता गराउन सकिने थपलियाले बताउनुभयो । उहाँले आइतबार १० देखि ५ बजेसम्म देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्ध भइसकेको बताउनुभयो । त्यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले जित्ने उम्मेदवारलाई पराजित उम्मेदवारले खुसीका साथ माला लगाइदिने वातावरण बनाउन आग्रह समेत गर्नुभएको छ । उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो । मतदानको अधिकारलाई सुरक्षित राख्न र मतदानलाई कुनै पनि तरिकाबाट प्रभावित गर्नेहरूलाई कुनै पनि किसिमको दण्ड तथा कारबाहीका लागि आयोग तत्परताका साथ लागू गर्ने थपलियाले बताउनुभयो । प्रमुख आयुक्त थपलियाले विभिन्न मतदानस्थलहरुमा सुरक्षा अवस्था हेरेर वर्गीकरण गरिएको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि आयोग प्रतिबद्ध रहेको बताउनुभयो । त्यस्तै आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । संविधान, कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिंग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी दिन आग्रह गरेको हो ।
आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतहरुको कार्यालय र ८८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना गरिसकिएको जानकारी दिएको छ । मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ४३ दिन बाँकी छ ।