
निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ । मंगलबार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसअघिका कमी कमजोरीलाई हटाउदै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताउनुभएको हो । सरकारी सञ्चार माध्यमसंगको छलफलका क्रममा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि सुझाव लिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । त्यस्तै उहाले आयोगमा दर्ता भएका ११६ दललाई आगामी निर्वाचनमा भाग लिनका लागि पुन दर्ता गर्न आह्वान गरेको जानकारी दिनुभयो । प्रवक्ता पौडेलले दुई वा दुई वटा भन्दा बढि दलहरु एउटै निर्वाचन चिन्हमा लड्ने हो भने केन्द्रीय समितीको निर्णयका साथ निवदेन दिनुपर्ने बताउनुभयो । उहाले आगामी निर्वाचनको तयारी तीव्रताका साथ अघि बढेको धारणा राख्नुभयो ।
आगामी मंसिर ४ गते प्रदेश र संघको निर्वाचन हुँदैछ ।