
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ती जनाउनुभएको छ । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निर्वाचन चिन्ह हरियो राख्ने निर्णय सच्चाउन पनि आयोगको ध्यानाकर्षण गराउनुभयो । उहाले कुनै पनि कारणले मतपत्रमा हरियो रंग राख्न उचित नहुने उल्लेख गर्नुभयो । त्यस्तै ओलीले अदालत, संसद, निर्वाचन आयोग र सिंगो सरकार एमाले विरुद्ध लागिरहेको आरोप लगाउनुभयो । त्यस्तै उहाले न्यायाधीशले कानुन हेर्न छोडेको र व्यक्तिको उद्यश्य हेरेर फैसला गरिरहेको जिकिर गर्नुभयो । ओलीले सत्तामा रहेका दलहरुलाई समृद्ध नेपाल सुखी नेपालीको नारा मन नपरेको धारणा राख्नुभयो । कार्यक्रममा ओलीले चुनावबाट सरकार बन्ने भए पनि अहिलेको सरकार परमादेशबाट बनेको भन्दै अदालतबाट मुद्दा जितेर सरकार बनाउने गलत नजिर बसेको बताउनुभयो ।
अध्यक्ष ओलीले अबको निर्वाचनपछि आफ्नो पार्टीको सरकार बन्ने दाबी गर्नुभयो । आगामी निर्वाचनका लािग एमालेलाई शसक्त बनाउने अभियान चाल्न पनि उहाले आग्रह गर्नुभयो ।