
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको बिषयमा नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा एकीकृत समाजबादीले आचारसंहिता उल्लंघन गरेको उजुरी प्राप्त भएको र सो बिषयमा तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी दिनुभयो । त्यस्तै आयोगले चुनाव खर्चबारे दिएको सार्वजनिक भनाईका बिषयमा कांग्रेसका नेता डा. शशांक कोइरालासँग जवाफ मागेको छ । २०७४ को निर्वाचनमा कोईरालाको निर्वाचन खर्च विवरण २१ लाख ७५ हजार मात्र उल्लेख भएको र ६ करोड खर्च भएको अभिव्यक्ति दिएको भन्दै यस बिषयमा सात दिनभित्र जानकारी दिन भनिएको प्रवक्ता पौडेलले बताउनुभयो । स्थानीय निर्वाचनका लागि २८ जिल्लाको ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । त्यस्तै सवै निर्वाचन अधिकृतले पाउनेगरि एक एक प्रति मतदाता नामावली पठाएसकेको उहाले बताउनुभयो । त्यस्तै निर्वाचन आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार ८ सय मतदाता थपिएको आयोगले जनाएको छ ।
केन्द्रबाट खरिद गर्नुपर्ने ३८ सामाग्री मध्ये ३५ सामाग्री खरिद भइ आइसकेको र अन्य सामाग्री आउने क्रममा रहेको आयोगले जानकारी दिएको छ ।