
नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जानुपर्ने मुद्दा अघि सार्दै चूनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमकाबीच माओवादी अध्यक्ष प्रचण्ड लगाएतका नेताहरुले आगामी मंसिर ४ गते हुने निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको हो । सुशासन र समृद्धिका लागि स्थिर राजनीति, स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ भन्ने नारा तय गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो । त्यस्तै राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, शान्ति र समृद्धिको यात्रा तय गर्ने अभीष्ट पूर्ति गर्नमा विगतको अनुभवमा संसदीय शासकीय स्वरूप अक्षम सिद्ध भएको घोषणपत्रमा उल्लेख छ । विगतको अनुभव र जनचाहनाका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएको प्रचण्डले बताउनुभयो । प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रिमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने घोषणापत्रमा उल्लेख छ । त्यस्तै २०४७ सालयता सार्वजनिक लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय सम्पती छानविन आयोग गठन गर्ने, न्यायपालीकाको सुधार, प्रशासन सुधार लगाएतलाई प्राथमिकतामा राखिएको प्रचण्डले बताउनुभयो ।
प्रचण्डले आफ्ना मुद्धाका बारेमा गठबन्धन दलहरुसंग छलफल गरेर कार्यान्वयनको तहमा लैजाने दावी गर्नुभयो । शासकीय स्वरुप परिर्वतनका लागि बहुमत राजनीतिक दलहरु सकारात्मक रहेको उहाले बताउनुभयो । उहाले गठबन्धन दल पार्टी एकतातर्फ अघि नबढेको भएकाले सबैले आआफ्नो घोषणापत्र ल्याएको जिकिर गर्नुभयो । माओवादी केन्द्रले पुँजीगत खर्च कार्यान्वयन क्षमतामा देखिएको समस्या र चरम व्यापार घाटा न्यूनीकरण गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान ठोस नीति र कार्ययोजना बनाइ कार्यान्वयन गरिने प्रतिवद्धता जनाएको छ । त्यस्तै राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तीव्रताका साथ सुरु गर्ने लक्ष्य माओवादीले राखेको छ ।