December 5, 2023

नेपाली आरोहीहरुको टोलीलाई सरकारले सम्मान

आरोही सम्मान प्रधानमन्त्री विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा हिउँद याममा आरोहण गरी कीर्तिमान कायम गरेका निर्मल पूर्जासहित नेपाली आरोहीहरुको टोलीलाई सरकारले सम्मान गरेको छ । मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोही टोलीलाई सम्मान गर्नुभएको हो । निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु आरोहण गरेर मंगलबार नै स्वदेश फर्केको हो ।

सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने बताउनुभयो ।त्यस्तै उहाले अब राज्यले साहसी आरोहीलाई अवार्ड दिने घोषणा गर्नुभयो । हिमाल आरोहणको अनुभवलाई सामान्य रुपमा लिन नहुने भन्दै आरोहीबाट सबैले प्रेरणा लिन सक्ने जिकिर गर्नुभयो ।प्रधानमन्त्री ओलीले माउन्ट केटु आरोहणमा आफूलाई मन लागेको तर त्यो दुस्साहस आफूले नगरेको धारणा राख्नुभयो ।त्यस्तै केटु हिमाल आरोही टिमको नेतृत्व गरेका निर्मल पुर्जाले नेपालको नाम विश्वमा चिनाउने उदेश्यका साथ हिमाल आरोहणमा गएको बताउनुभयो । उहाले आरोहण टोलीलाई राज्यले उचित सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।यसअघि स्वदेश फर्के लगतै आरोहण टोलीलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाले उपत्यकाका बिभिन्न स्थानको परिक्रमा गराएको थियो । म्याग्दीका पुर्जासहित नेपाली आरोही टोलीले माघ ३ गते दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *