
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एशोसिएशसनले आइतबार पनि सर्वोच्च परिसरमा विरोध प्रदर्शन गरेको छ । बारले चौथो चरणको आन्दोलन अन्तर्गत प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले रोकेपछि आइतबार पनि धकेलाधेकल भएको थियो । सो क्रममा प्रदर्शनमा उत्रिएका वकिलहरुले अदालतभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर आफुहरुमाथि दमन गर्न खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए । उनीहरुले प्रधानन्यायधिश बिरुद्ध चर्का नारा लगाएका थिए । प्रदर्शनपछि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको नङ्ग्रा भाचिसकेको भन्दै राजीनामाको बिकल्प नभएको बताउनुभयो । उहाले अदालतमा सेटिङ मार्फत अहिले पनि मुद्धा हेर्ने काम भइरहेको आरोप लगाउनुभयो । श्रेष्ठले कानुन व्यवसायीमाथि दमन गर्नका लागि अदालतभित्र सशस्त्र र प्रहरी राखिनु निन्दनीय भएको उल्लेख गर्नुभयो । त्यस्तै बारका महासचिव लीलामणि पौडेलले आफुहरुको आन्दोलनमा निरन्तर प्रहरी दमन भइरहेको बताउनुभयो । आइतबार पनि प्रहरीको बल प्रयोगबाट गोपाल श्रेष्ठ, गणेश ओली लगाएतका अधिवक्ता घाइते भएको उहाले जानकारी दिनुभयो
बारको अगुवाइमा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराबाट निष्पक्ष न्याय सम्पादन हुन नसक्ने, भ्रष्ट्राचार भएको जनाउँदै उनको राजीनामा माग गर्दै आएका छन् । कानुन व्यवसायीले आइतबार देशभरका अदालतमा बहस बन्द गरेका छन् ।आन्दोलनको स्वरुप परिवर्तन गरेको बारले मंसिर २४, २५ र २६ गतेका लागि तोकिएको राष्ट्रिय सम्मेलन समेत स्थगित गरेको छ ।