


नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग बैशाख ११ गतेबाट सुरु हुने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न शहरबाट ७ टिमको सहभगिता रहने छ । टिम र टिम मालिकको नाम भने यसै महिनाभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुने छन् । टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले दुई वर्ष अघि नै लिग आयोजना गर्ने घोषणा गरेको थियो । तर, म्यानेजमेन्टका सीईओ सुदिप शर्माले रंगशालाको पुननिर्माण र कोरोना भाईरसको कारण लिग समयमा गर्न नसकेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग आयोजनाका लागि वार्षिक क्यालेन्डरमा २ महिनाको समय दिईएको बताउनुभयो । यस्तै अध्यक्ष शेर्पाले यस प्रतियोगिता फ्रेन्चाईजको रुपमा रहने बताउदै सहिद स्मारक लिग र नेसनल लिगलाई एन्फाले अघि बढाउने जानकारी दिनुभयो ।
