


संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले पर्यटन क्षेत्रको विस्तार प्रवद्र्धनका लागि आवश्यक कार्ययोजना तयार गरि कार्यान्वयन गर्न पर्यटन बिभागलाई निर्देशन दिनुभएको छ ।
मंगलबार काठमाडौंमा बिभागको निरिक्षण गर्दै मन्त्री अरगरियाले पर्यटन क्षेत्र नेपालको आर्थिक बिकासका लागि महत्वपूर्ण क्षेत्र भएको भन्दै यसको व्यवस्थीत र उचित बिकासका लागि बिभागले बनाउने कार्ययोजनालाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । उहाले पर्यटनसम्बन्धी भौतिक पूर्वाधार निर्माणका काम समयमा नै कार्यान्वयनको चरणमा लैजान र समयमा नै गुणस्तरिय काम सम्पन्न गर्न र जिम्मेवारीपूर्वक काम गर्न बिभागलाई निर्देशन दिनुभयो । पर्यटनका प्रमुख क्षेत्रहरु होटल, ट्राभल, ट्रकिङ क्षेत्रको स्थापनामा समन्वय र सहजीकरणका साथ नियमित अनुगमनमार्फत कानूनी दायरा कायम गर्न तथा पर्वतारोहणसम्बन्धी क्षेत्रमा नेपालको बिशिष्ठ स्थान बनाउने योजना सहित काम गर्न पनि उहाले निर्देशन दिनुभयो ।
सो क्रममा बिभागले भोग्नुपरेका समस्या र बिभागको आगामी योजना र रणनीतिका बारेमा मन्त्रीलाई जानकारी गराइएको बिभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिनुभयो । मन्त्री अरगरियाले कोरोनाका बेला पनि हिमाल आरोहणको काम सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रसंसा गर्नुभएको थियो ।
