


भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन क्षमापूजा गरिएको छ ।मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थीतिमा मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरिएको हो । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको थियो । यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोष सञ्चालक परिषद्का सदस्य शास्त्री अर्जुन प्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइने कोषले जनाएको छ । नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो ।
