December 5, 2022

पार्टीभित्रबाटै गठबन्धनको खिलापमा कुरा गर्नु दुखद कुरा हो: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रबाटै गठबन्धनको खिलापमा कुरा गर्नु दुखद रहेको बताउनुभएको छ । काठमाडौंको शान्तिबाटीकामा शुक्रबार आयोजित चूनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन काँग्रेसको महाधिवेशनबाट पास भएको भन्दै पार्टीभित्रबाटै गठबन्धनको खिलापमा कुरा गर्नु दुखद रहेको बताउनुभएको हो । पार्टीको १४ औं महाधिवेशनले गठबन्धन आवश्यक छ भन्ने म्यान्डेट दिएको र पार्टीको केन्द्रीय समितिमा पनि गठबन्धनको खिलापमा कोही नबोलेको उहाले बताउनुभयो । हिजो बिपीलाई फासीको सजाय दिनुपर्छ भन्नेहरु नै गठबन्धनको खिलापमा रहेको उहाले बताउनुभयो । देउवाले काठमाडौं र भरतपुर महानगर प्रमुखका महिला प्रत्यासीलाई जिताउन सबैजना लाग्नुपर्ने धारणा राख्नुभयो । देउवाले दुवै महिला उम्मेदवारहरुलाई उनीहरुको परिवारसँग जोडिएर हेरेकोमा आपत्ती जनाउनुभयो । उहाले अहिलेको संविधान अनुसार कसैले बहुमत ल्याउन नसक्ने भन्दै सबैलाई गठबन्धनका उम्मेदवार जिताउन आह्वान गर्नुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं ऐतिहासिक र सम्पदाको हिसाबमा वैभवशाली भए पनि सुशासनका क्षेत्रमा धेरै काम गर्न बाँकी रहको बताउनुभयो । उहाले एकताका बलमा संविधान बनाएको र शान्ति सम्झौता भएको भन्दै मुलकको बिकासका लािग पनि अव एकतावद्ध हुनुपर्ने धारणा राख्नुभयो । अहिलेको लडाई संविधान बिरोधी गठबन्धन र परिवर्तनको पक्षधारको गठबन्धनबीचको लडाई भएको भन्दै निर्वाचनले फैसला गर्ने उहाले बताउनुभयो । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वका लागि एक भएर जानुको विकल्प नभएको बताउनुभयो । उहाले महानगरमा फोहोर व्यवस्थापन, स्मार्ट सिटी, यातायात लगायतका विषयमा उम्मेदवारहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले काठमाडौंका उम्मेदवार सिर्जना सिंह र रामेश्वर श्रेष्ठका प्रतिबद्धताहरु जनतामैत्री भएको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.