


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका साथ सुदृढ स्थितिमा पु¥याएर नेतृत्व छाड्ने बताउनुभएको छ ।आइतबार ललितपुरमा पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले पार्टीलाई कुनै मधुकैटभले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुराएर मात्र नेतृत्व छाड्ने बताउनुभएको हो । अध्यक्ष ओलीले प्रचण्ड–माधवले पार्टी एकीकरणको बाटो छाडेर सत्ता गुटबन्दीमार्फत पार्टी ध्वस्त पार्न खोजेपछि आफूले जोगाएको बताउनुभयो । उहाले देश र जनताले देखाएको विश्वास एक इन्च पनि तलमाथि हुन नदिने दावी गर्नुभयो । अध्यक्ष ओलीले देश बनाउने कर्तव्य एमालेको रहेको भन्दै देश बन्न सकेन भने यसको दोष आफ्नो काँधमा पर्ने धारणा राख्नुभयो ।ओलीले सु–शासन, समृद्धिका विषयमा अरू राजनीतिक पार्टीसँग एमालेको भिन्नता रहेको उल्लेख गर्नुभयो । एमाले नेतृत्वको सरकारले गरेको असाधारण बिकासको कामलाई कसैले उछिन्न नसक्ने ओलीले तर्क गर्नुभयो ।
ओलीले आफ्नो देवत्वकरण भयो भन्नु विरोधीहरुले चलाएको हल्ला मात्र भएको भन्दै पार्टीमा लिडरसिप हुने र लिडरसिप वरिपरि पार्टी र आन्दोलन एकत्रित हुने बताउनुभयो ।ओलीले आफूमाथि प्रहार गरेर एमाले कमजोर बनाउने प्रयास भइरहेको धारणा पनि राख्नुभयो । विरोधीहरू आफु बाचिरहेकाले र अर्को कार्यकर्ता र जनताले माया गरेको देखेर बिरोधीहरु चिन्तित रहेको उहाले तर्क गर्नुभयो ।
