July 30, 2021

पुनको उपचारका क्रममा नै मृत्यु भएको

गृहमन्त्री राम बहादुर थापाले विप्लव समूहका गजेन्द्र पुनको उपचारका क्रममा नै मृत्यु भएको बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सांसदहरुले म्याग्दीको प्रहरी हिरासतमा रहेका पुनको मृत्युको बिषयमा प्रश्न राखेपछि गृहमन्त्री थापाले कारागारबाट उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउदा मृत्यु भएको बताउनुभएको हो । अभद्र व्यवहारको मुद्धामा पुर्पक्षमा रहेका पुन मंसिर २४ गते आकस्मीक रुपमा बिरामी भएको र उपचारका लागि कास्की ल्याएको जानकारी प्राप्त भएको उहाले जानकारी दिनुभयो । गृहमन्त्री थापाले उपचारका लागि सहज बनाउन पनि कास्की कारागारमा स्थानान्तरण गर्नका लागि प्रक्रिया पनि सुरु गरेपनि त्यसअघि नै मंसिर २९ गते मृत्यु भएको बताउनुभयो । उहाले यस बिषयमा छानविन गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

बैठकले पुनको मृत्युको कारण छानविन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै मृतकका परिवारलाई आवश्यक राहतको व्यवस्था गर्न पनि निर्देशन दिइको समिति सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो ।बैठकमा समिति सदस्यहरुले पुनको मृत्यु संकास्पद भएको भन्दै छानविन गर्नुपर्ने बताएका थिए । साथै उनीहरुले परिवारलाई उचित राहत दिन पनि माग गरेका थिए । मृतक पुन ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुख थिए ।

Leave a Reply

Your email address will not be published.