


सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘शक्ति पृथकीकरणको रक्षा गरौं, संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘आइ एम विथ केपी ओली’ लगायत नारा लगाएतका थिए । सर्वोच्चले फैसला गरेलगत्तै ओलीनिकट सांसद महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध आन्दोलनको घोषणा गर्दै प्रदर्शनमा उत्रन आह्वान गर्नुभएको थियो । प्रदर्शनमा सहभागी हुनुभएका बस्नेतले खिलराज रेग्मी बन्ने सपना नदेख्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई चेतावनी दिनुभयो ।
उहाले न्यायमूर्तिहरुले संविधानको रक्षा गर्न नसकेको आरोप लगाउनुभयो । बस्नेतले अन्तराष्ट्रिय सेटिङबाट सर्वोच्चलाई घाँस खुवाएर गराइएको फैसला गराएको टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतलाई प्रधानमन्त्री चयन गर्ने अधिकार संविधानको कुनै धाराले नदिएको उहाले बताउनुभयो ।
सर्वोच्चको फैसलापछि अप्रिय घटना हुन सक्ने भन्दै सर्वोच्च अदालतदेखि नयाँ बानेश्वर लगाएत बिभिन्न क्याम्पस अगाडी ठूलो संख्यामा सुरक्षाकर्मी परिरचालन गरिएको थियो ।
