प्रधानमन्त्री शेरबहादुर देउवाले सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटन गर्दै भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको हो ।उहाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने पनि बताउनुभयो । प्रतिष्ठानले आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने उहाको भनाई छ । प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा सुधारका काम गरेर देखाउने बताउनुभयो । उहाले पर्यटन क्षेत्रमा पनि सुधारका काम सुरु भइरहेको भन्दै प्राज्ञिक अध्ययन अनुसन्धानका काममा पनि हात्तेमालो गर्ने जिकिर गर्नुभयो । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यसअघि दिदै गरेको बिरेन्द्र प्रज्ञा पुरस्कार बिभिन्न पुरस्कारहरु बितरण बन्द भएको भन्दै यसले नकारात्मक सन्देश जाने बताउनुभयो ।
उहाले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिनसक्ने बताउनुभयो । समारोहमा प्रधानमन्त्री देउवाले बहुप्रतिक्षित लेखक÷साहित्यकार परिचयपत्र वितरण कार्यको आरम्भ गर्नुभएको थियो । उहाले पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति काइँला र पूर्व सदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक÷साहित्यकार परिचयपत्र वितरण गरिएको थियो ।