June 14, 2024

बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन निर्देशन दिइएको जानकारी दिनुभयो । उहाले ५ गतेसम्म सवै स्थानको परिणाम सार्वजनिक गर्ने भनिएपछि सम्भव हुन नसकेको बताउनुभयो । त्यस्तै वैशाख ३० गते मतदान स्थगित भई पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने उहाले बताउनुभयो । त्यस्तै, आयोगले स्थानीय तह सदस्य निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा भएका कानूनविपरीत गतिविधिमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएको प्रवक्ता पौडेलले बताउनुभयो । प्रवक्ता पौडेलले स्थानीय तह सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी रहेको र निर्वाचन स्थगन भएका ३५ स्थानीय तहमा पुन मतदान भएको बताउनुभयो भने अछामको साँफेबगरमा

जेठ ६ गते र उदयपुरको त्रियुगा नगरपालिका वडा १२ र बाजुराको बुढीगंगा नगरपालिकाको सम्बन्धमा निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *