January 19, 2022

भलिबल च्याम्पियनसिप बिजेता नेपाली महिला टिम स्वदेश फर्किए

बंगलादेशको राजधानी ढाकामा भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप बिजेता नेपाली महिला टिम स्वदेश फर्किएको छ । खेलाडीलाई स्वागत गर्न खेलकुद मन्त्री महेश्वर जंग गहतराजका साथै भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, उपाध्यक्ष निरोज मास्के र रञ्जन खड्का, केन्द्रीय सदस्य रोशन श्रेष्ठ लगायत पदाधिकारी विमानस्थल पुगेका थिए । फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो संस्करणमा उपाधि जितेको नेपाली टिमलाई मन्त्री गहतराजले माला लगाइदिनुभएको थियो । स्वागत कार्यक्रममा मन्त्री गहतराजले नेपालका महिला र पुरुष भलिबल टिमले आउँदो एशियन गेम्समा सहभागिता जनाउने घोषणा गर्नुभयो । अहिले ऋन खोजेर ढाका प्रस्थान गरेको नेपाली टिमलाई आउने एसियन गेम्समा भने सरकारले आफ्नै खर्चमा पठाउने मन्त्री गहतराजले बताउनुभयो । उहाले नेपालको राष्ट्रिय खेल भइकन पनि पूर्वाधारमा पछि रहेको तर्फ उल्लेख गर्दै भलिबल संघको आफ्नै अफिस र कभर्डहल रंगशाला परिसरमै निर्माण गर्ने पनि प्रतिवद्धता जनाउनुभयो । त्यस्तै उहाले एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय भएको पनि जानकारी दिनुभयो । त्यस्तै टीम कप्तान अरुणा शाहीले अभ्यासका लागि आफ्नै हलको व्यवस्था हुँदा राम्रो हुने धारणा राख्नुभयो । कप्तानको रुपमा लगातार दुई पटक उपाधि जित्नु आफ्ना लागि ठूलो उपलव्धि भएको बताउँदै उहाले यसले थप जिम्मेवारी प्राप्त भएको उल्लेख बताउनुभयो । कप्तान शाहीले गत बर्षको उपाधि जोगाउने चुनौती आफूहरुका लागि रहेको र त्यसैले गर्दा टिम अलि प्रेसरमा आएको उल्लेख गर्नुभयो । त्यस्तै टीम प्रशिक्षक जगदीश भट्टले भलिबल खेलको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published.