



परापूर्वकाल देखि चलिआएको विवाह पञ्चमी यसपालि कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै परमपरागत हिसाबले मात्र मनाईने भएको छ ।प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुनेमा यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक देखिएको छैन ।यस पटक विवाह पञ्चमी पुस ४ गते शनिबार परेको छ । वर्षौंदेखि चल्दै आएको परम्परालाई यस वर्ष सीमित रुपमा मनाइने जनकपुरस्थीत जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैश्णवले बताउनुभयो । यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुरधाम नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिनेछ ।
यस पटकको विवाह पञ्चमीमा भारतबाट जन्तीसमेत नआउने जानकी मन्दिरका महन्थ वैष्णवले वताएका छन । जन्ती आउने सम्बन्धमा यसअघिका वर्षहरुमा पहिला नै जानकारी आउने गरिन्थ्यो तर यस पटक भारतको अयोध्याबाट कुनै खबर नआएको वैश्णवले जानकारी दिनुभयो ।प्रचार प्रसार नगरिएपनि विवाह पंचमीमा लाखौ श्रद्धालु जमघट हुने र कोरोना भाइरसको पनि जोखिम हुने भएको तथा असुरक्षाको वातावरण पनि सृजना हुने भएकोले यसको समन्वय गर्नका लागि सुरक्षा निकायलाई अनुरोध गरिएको समेत महन्थ वैष्णवले बताउनुभयो । भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउने गरिन्छ ।
