सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले संकटासँग २–२ गोलको बराबरी खेलेको हो । संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक एक गोल गरे । मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए । लक्ष्मण रुचालको फ्रिकिक पासमा निरजले हेडरमार्फत गोल गरे । तर, खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा फर्काए ।
त्यस्तै खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याएर हारबाट जोगाए । यस बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । संकटाले भने ५ अंक जोडेको छ ।