प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार मुलुकका ६१ जिल्लाको कमिटी अधिवेशन गरेको छ । एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट शुक्रबार एकैसाथ जिल्ला कमिटी अधिवेशनको उद्घाटन गरिएको हो । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले जिल्ला र प्र्रदेश अधिवेशनको मिति निर्धारण गरेको थियो । जिल्ला अधिवेशनका लागि पार्टीका नेताहरु बिभिन्न जिल्ला पुगेका थिए । काठमाडौंको मुलपानीमा आयोजित एमाले काठमाडौको जिल्ला अधिवेशनमा अध्यक्ष केपी ओली, बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल लगाएतका नेताहरु पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बरिष्ठ नेता इश्वर पोखरेलले निर्वाचनमा एक्लै आउन चूनौति दिदै गठबन्धन बनाएर आएपनि सामना गर्न एमाले तयार रहेको बताउनुभयो । पार्टीबाट चोइटिएर गएका नेताहरुले राष्ट्रिय निर्वाचन एमाले साफ हुन्छ भनेको भन्दै कांग्रेससंग एकता गर्न समाजवादीलाई सुझाव दिनुभयो । नेकपा एमालेले बाँकी १६ जिल्लाहरुको अधिवेशन भने अर्को मितिमा हुने जनाएको छ । सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको एमालेले जनाएको छ ।
संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ । रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ । बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको छ । मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा अधिवेशन रोकिएको छ ।