

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधव नेपाल समूहले संसद बिघटनबिरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै बैठकले संघर्षका कार्यक्रम पनि तय गरेको छ ।बिहीबार काठमाडौंको एक पार्टी प्यालेशमा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले संसद बिघटन गर्ने निर्णय संविधान बिपरित भएको भन्दै संघर्षका कार्यक्रम तय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय कमिटी समेत बनाएको छ ।पार्टी संगठन विरुद्ध रहेका गतिविधिका विरुद्ध पार्टी एकतालाई थप बलियो बनाउनका लागि तथा प्रतिनिधिसभाको विघटनको कथित निर्णय विरुद्ध पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरिएको श्रेष्ठले बताउनुभयो ।

बैठकले शुक्रबार निर्बाचन आयोगमा केन्द्रीय कमिटीका सदस्य तथा संसदहरु सहभागी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै पुष १४ गते राजधानीसहित जिल्ला जिल्लामा विरोध प्रदर्शन गरिने, २५ गते सम्म सबै वडाहरुमा भेला आयोजना गर्ने निर्णय बैठकले गरेको श्रेष्ठले बताउनुभयो ।यसैबीच बैठकले महासचिवको चयनको जिम्मा स्थायी कमिटीलाई दिएको छ । त्यस्तै केन्द्रीय कमिटी, स्थायी कमिटी र जिल्ला कमिटीमा रिक्त सदस्यको मनोनयनको जिम्मा पनि स्थायी कमिटीलाई दिएको छ । बैठकमा प्रचण्डले प्रतिनिधिसभा विघटन, दलमा विभाजन ल्याउने जस्तो विगतका घटनालाई सम्झेर अहिलेको घटनाक्रमलाई तिनकै पुनरावृत्ति भनेर ठान्ने गल्ती गर्न नहुने बताउनुभएको थियो ।
